१४औ केन्द्रीय पार्षद सभा काठमाडौंमा भव्यरुप मा सम्पन्न
नेपाल र विश्वका विभिन्न ठाउमा छरिएर रहेका सम्पूर्ण तमूहरुलाई भावनात्मक रुपमा एकिकृत गर्दै तमू जतिको सर्वाङ्गीणं विकासको पक्षमा लाग्नका लागी साझा एकमात्र छाता संगठनको रुपमा स्थापित यस तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको ऐतिहासिक १४औ केन्द्रीय पार्षद सभा मिति २०८१ असोज ३ र ४ गते संघीय राजधानी काठमाडौँमा भव्य र सभ्य रुपमा सम्पन्न भयो ।
१४औ केन्द्रीय पार्षद सभाको उद्घाटन समारोह नेपाल सरकार संचार सुचना तथा प्रविधि मंत्री माननीय श्री पृथ्वी सुब्बा गुरुङज्यूको प्रमुख आतिथ्यता एवम् केन्द्रीय अध्यक्ष श्री कर्ण बहादुर गुरुङको अध्यक्षतामा भएको थियो।
देशभरीका प्रदेश समिति, जिल्ला कार्यसमितिका प्रतिनिधिहरू आवद्ध विशेष, संस्थागत तमू संघ संस्थाहरु, भातृ संस्थाहरु महिला, युवा र विद्यार्थीका प्रतिनिधिहरू, पेशागत संघ/संस्थाका प्रतिनिधिज्यूहरूको उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा विशेष अतिथिका रुपमा संरक्षक परिषद अध्यक्ष श्री रेशम गुरुङ, प्राकृतिक श्रोत तथा वित्त आयोगका सदस्य मा. जुद्ध बहादुर गुरुङज्यू हुनुहुन्थ्यो भने अतिथिगणमा केन्द्रीय संरक्षक परिषद सदस्यज्यूहरु, केन्द्रीय सल्लाहकारज्यूहरु, केन्द्रीय निर्देशन तथा अनुगमन समितिका संयोजक तथा सदस्यज्यूहरु, लेखा समितिका संयोजक तथा सदस्यज्यूहरु रहनु भएका थिए।
महासचिव श्री डम्बर बहादुर गुरुङ र सह-महासचिव मनोज गुरुङले संचालन गर्नु भएको समुद्घाटन समारोहमा डा. लिना गुरुङ(सचिव जिल्ला कार्यसमिति ललितपुर, मूल व्यवस्थापन समिति सचिव) ले स्वागत मन्तव्य राख्नु भएको थियो। समुद्घाटन समारोहमा भर्खरै सम्पन्न भएको टानको निर्वाचनमा निर्वाचित हुनुहुने गुरुङ समुदायका तर्फबाट सदस्य अम्विर वहादुर गुरुङ, विकास गुरुङ र राजु गुरुङलाई सम्मान गरिएको थियो।
यसै १४औ केन्द्रीय पार्षद सभामा संस्थाको वेबसाइट www.tamuhyula.org पनि प्रमुख अतिथि द्वारा बिमोचन भएको थियो। यो वेबसाइटलाई हाम्रो भातृ संस्था नेपाल तमू विद्यार्थी छोंज धींको आइ.टी. अफिसर श्री बुध राम गुरुङज्यूले बनाएका थिए।
बन्द सत्र
केन्द्रीय पार्षद सभाको बन्द सत्रले महासचिव श्री डम्बर बहादुर गुरुङ र कोषाध्यक्ष श्रीप्रसाद गुरुङज्यूवाट प्रस्तुत सांगठनिक र आर्थिक प्रतिवेदन उपर छलफल गर्दै प्राप्त सल्लाह र सुझावलाई समेट्ने गरी पारीत गरिएको छ। सोहि सभाले संस्थाको भावी कार्यक्रम र योजनाको खाकालाई समेत पारीत गरेको छ । केन्द्रीय पार्षद सभामा उपस्थित प्रदेश, जिल्ला कार्यसमितिका साथै विभिन्न संघ संस्था द्वारा आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरको थिए।